Interesting Information

Sep 16 , 2018

जीवनको मूल्य
http://annapurnamavi.edu.np/content/uploads/images/ruby-logo-300x264.png

एकदिन एकजना मानिस आफ्नो गुरुकहाँ गएर भन्यो, "गुरु म हजुरलाई आदर गर्छु, तर मेरा धेरै साथीहरुले हजुरलाई पागल भन्छन । मलाई आज हजुर पागल होइन भन्ने कुरा प्रमाणित गरिदिनु पर्‍यो" ।

गुरु कोठाभित्र पसेर एउटा टल्किनेको वस्तु ल्याउनु भयो र आफ्नो चेलालाई दिंदै भन्नु भयो, "बाबु, यो ढुंगा लिएर तरकारी बजारमा जानु र कति मुठासम्म साग दिन्छ बुझेर आउनु, तर यसलाई नबेच्नु ।"

सो व्यक्ति तरकारी बजारमा गएर धेरैसंग सोध्यो कि सो ढुंगासंग साट्न पर्दा कति मुठा साग दिने भनेर । थोरैमा एक मुठा र बढीमा पाँच मुठा साग दिने जानकारी पाएपछि ऊ गुरुकहाँ गएर एकजनाले बढीमा पाँच मुठासम्म दिन मन्जुर भएको जानकारी दियो ।

गुरुले उन्लाई सुन पसलेहरुकहाँ गएर बढीमा कतिसम्म दिने रहेछ बुझ्न पठायो ।

उनी धेरै सुन पसलेकोमा गएर बुझ्दा बढीमा दश लाखसम्म दिने ब्यापारी भेटेपछि गुरुकोमा गएर दश लाखसम्म दिने पसले भेटिएकोले अब बेच्न ढिलाई नगरौं गुरु भनी आग्रह गर्‍यो ।

गुरुले उसलाई नहतारिन भन्नु भयो र उसलाई अब हिरा पसलेहरुकोमा गएर कतिसम्म दिन्छ बुझेर आउन भने ।

त्यो मान्छे अब धेरै हिरा पसलेकहाँ गएर आफ्नो गुरुले दिएको त्यो ढुंगालाई कति दिन्छ सोध्दै हिंड्यो । एउटा हिरा पसलेले त्यो ढुंगालाई एक करोडसम्म दिने कुरा बतायो । त्यो मान्छे अत्तालियो र हस्याङ र फस्याङ गर्दै गुरुकहाँ गएर एकजनाले एक करोड दिन तयार भएकोले अब भने बेच्न ढिलाई गर्न नहुने बतायो ।

गुरुले भन्नु भयो, "बाबु म सन्यासीलाई त्यो एक करोडको के काम?" गुरुले अगाडि भन्नु भयो, "यो ढुंगा र म उस्तै हो । साग पसलेले यसलाई बढीमा पाँच मुठा साग दिन राजी भयो । किनकि उस्ले यो ढुंगाको मूल्य त्योभन्दा बढी देख्न सकेन । सुन पसलेले यस्को मूल्य दश लाखभन्दा बढी देख्न सकेन जबकि एउटा हिरा पसलेले यस्को मूल्य नाफा गरेर बेच्नको लागि एक करोडसम्म तिर्न तयार भयो । म पनि त्यस्तै हो - कसैले मलाई पागल भन्लान, कसैले सन्यासी भन्लान र अझ कसैले देवता । कुन मान्छेले मलाई कसरी बुज्छ भन्ने कुरा उस्को स्तरले बताउने कुरा हो । त्यसैले सबै आ-आफ्नो ठाउँमा ठीक छन् । तिमीले कसरी लिने भन्ने कुरा तिम्रो कुरा हो बाबु ।" 

 

पढ्ने बानीको विकास कसरी गर्ने ?

-खिमा लामिछाने 'काजी'

आफ्नो स्कुल जाने बाबु नानीहरुलाई मेला, उत्सव, सिनेमा देखाउन त सबैले लग्नु भएकै होला । के पुस्तकालय देखाउन कहिल्यै लग्नु भएको छ ? छैन भने लगि हाल्नुस् । आजकल पुस्तकालयहरुमा साना–साना बाबुनानीहरुको लागि भनेर छुट्टै किताबहरु राखिएको हुन्छ। अंग्रेजी लेखक एवं कवि जोसेफ एडिसनले भनेका छन्‘जसरी शरीरको लागि व्यायाम आवश्यक छ त्यसरी नै दिमागको लागि पढाइ जरुरी हुन्छ।’

स्कुलको पढाइ र गृहकार्यले मात्रै बालबालिकाको सम्पूर्ण विकास सम्भव हुँदैन। सबै उमेर समूहका व्यक्तिको लागि पुस्तकालयमा पुस्तकहरु पाइन्छ। बालपत्रिकाहरु, चित्र कथा, बालगीत, बालकथा, बालकविता, बाल–मनोविज्ञान, रपअप तथा वार्डलेस बुक, चाइल्ड इन्साइक्लोपेडिया, बाल शब्दकोश आदि बाल पुस्तकहरु पुस्तकालयमा राखिएको हुन्छ ।

नियमित रुपमा कोर्सभन्दा बाहिरी पुस्तक पढ्ने बानी भएका बालबालिकामा चेतनाको विकास अलि बढी हुन्छ।एक अर्कालाई कसरी व्यवहार गर्ने, कसरी बोल्ने, कसरी लेख्ने र कसरी अभिव्यक्ति दिने भन्ने ज्ञान विकास भएको हुन्छ।बालबालिकालाई सानैदेखि जीवन, समाज र संसारका नियमहरू कसरी चल्छ भन्ने विज्ञान सम्बन्धी चेतना दिने बालपुस्तकहरु पढ्न उत्प्रेरणा जगाउनु पर्छ ।

हामीले सुनाउने गरेको लोक कथाहरुमा राक्षेस, भूत, देवता जस्ता कुराहरुले अन्धविश्वास तर्फ धकेलिरहेको हुन्छ।विज्ञान र यथार्थवादी बालकथा, नीति कथाहरुले उनीहरुको बौद्धिक स्तरमा बृद्धि हुँदै जान्छ।जसले गर्दा कलिलै उमेरमा जीवन र जगतलाई सजिलै बुज्ने हुँदै जान्छन् । घाम किन बिहान उदाउँछरबेलुकी अस्ताउँछ ? तारा किन चम्कन्छ ? स्वर्ग र नर्ग हुन्छ कि हुँदैन ? भन्ने जस्ता खोजीमूलक विषयका पुस्तक पढ्न लगाउँदा बालबालिकामा कुनै पनि विषयलाई गहिरिएर खोजी गर्ने बानीको विकास हँुदै जान्छ।

विद्यालयमा पढाइने पुस्तकका साथै कथा, उपन्यास, कविता, निबन्ध लगायतका पुस्तक पढ्ने विद्यार्थी, कोर्सेको मात्रै पुस्तक पढ्ने विद्यार्थीको तुलनामा बढी सिर्जनशील, मेहेनती, अनुशासित र नम्र हुन्छन् भन्ने कुरा एक अमेरिकी अध्ययनले देखाइसकेको छ।किताब प्रकाशन गर्ने एक संस्था स्कलैस्टिक इंडियाले गरेको एक अध्ययन अनुसार यदि अभिभावक जोडजोडले आवाज निकालेर किताब लिएर बालबालिकाको अगाडि पढ्छन् भने बच्चाहरुमा पढाई प्रति लगाव बढ्दै जान्छ।

देशभरका १७ सय ५२ बुबाआमा र विभिन्न उमेरका बालबालिकालाई यस अध्ययनमा सामेल गराइएको थियो । असल र विवेकशील नागरिक बनाउने काम घरबाटै सुरु गर्नुपर्छ। उनीहरूमा पढ्ने बानी बसे पछि जीवनभरि अध्ययन र सिर्जनशील कार्यमा रुचि लिनेछन् ।

पुस्तक पढने बानीको विकास हरेक उमेर समूहका व्यक्तिको लागि जरुरी छ।अहिले कतिपय युवा–युवतीहरुलाई फेसबुस, टिव्टरजस्ता सामाजिक सञ्जालमा समय बिताउने लत लागेको पाइन्छ।पढ्ने बानी लाग्यो भने इन्टरनेटमा पनि पुस्तक पढन सकिन्छ।इे–लाइब्रेरीको माध्यमाद्धारा अहिले कतिपय नेपाली उपन्यास, कविता, निबन्ध जस्ता थुप्रै विधाका पुस्तकहरु इन्टरनेटमा उपलब्ध रहेका छन्।पढने बानी विकास गर्नको लागि समयतालिका अनुसार पढने गर्नुपर्छ।समयमा सुत्ने अनि बिहान सबेरै उठने गर्नुपर्छ ।

पढने बानी भएका साथीहरुको संगत गर्ने । पढ्ने साथीहरुको ग्रुप बनाउने गर्नुपर्छ । पढेको पुस्तकका बारेमा साथीहरुसँग कुराकानी गर्ने, बहस गर्ने गर्नुपर्छ । जस्तो पोखरामा ¥यान्डम रिडर्स सोसाइटी अफ नेपालले गर्ने गर्छ।पढने समयमा सामाजिक सञ्जालको प्रयोग नगर्ने । पढेको कुरालाई सम्झिने र चिन्तन,मनन गर्ने बानी बसाल्ने । पहिले पढेको च्याप्टरमाके थियो सम्झेर मात्र नयाँ च्याप्टरसुरु गर्नुपर्छ।पढ्ने बेला खानु हुँदैन । खाँदै पढ्नेलाई राम्रो पनि मानिदैंन । दिनमा लगातार १–२ घन्टा पढेपछिघरबाहिर घुम्न निस्किनु पर्छ । पढ्ने कोठा शान्त सुन्दर र आरामदायी हुनुपर्छ।पढ्ने कुरालाई जीवनको एउटा अभिन्न अंग मान्नु पर्छ।

पढ्ने बानी लाग्यो भने जीवनमा कहिल्यै एक्लो हुनु पर्दैन । अर्नेस्ट हेमिङवेले भनेका छन्,‘पुस्तकभन्दा इमानदार साथी अरु कोही हुँदैन।’कतै टाढा घुम्न निसक्नु पर्दा आफूलाई मनपर्ने पुस्तक वा कुनै नयाँ पुस्तकसँगै लिएर हिंड्नेगर्नुपर्छ ।

हामी कसैले कुनै दिन हाम्रो साना छोराछोरीहरुलाई चिल्ड्रेन बुक अर्थात् बच्चाहरुले पढ्ने किताब, कार्टुनको किताब, कमिक्स, चित्र कथा वा कुनै बालपुस्तक,बालपत्रिका किनेर दिएका छौ त ? एकचोटी सोचौ त, जब हामीले हाम्रो बच्चाहरुलाई पढ्ने बानी बसाल्नको लागि कुनै लगानी गर्दैनौ, कुनै योजना बनाउँदैनौ, उनीहरुले पढ्न मिल्ने कुनै पुस्तक किनेर घरमा ल्याउँदैनौ, अनि हामी नै भन्ने गर्छौ मेरो बच्चाहरु पढ्नै मान्दैनन् ।

जतिबेला पनि उही कोर्सको किताब, उही स्कुले पुस्तकले मात्रै पढ्ने बानीको विकास हुन सक्दैन ।स्कुले किताब उनीहरुको लागि अनिवार्य पढनै पर्ने भएकाले त्यो एउटा बोझ जस्तो बनिरहेको हुन्छ । त्यस्तो अवस्थामा उनीहरुलाई केही बाहिरी पुस्तक जस्मा केही मनोरञ्जन, कथा, रमाइला कविता, चुट्किला, जोक जस्ता कुराहरु होस् । यस्ता पुस्तकले उनीहरुको पुस्तक प्रतिको सोचाइमा फरकपना ल्याउँछ । स्कुले पुस्तक पढिरहँदा, गृहकार्य गर्दा उनीहरुलाई बोर भइरहेको अवथामा केही नयाँ र नौला कथा चुट्किला वा चित्र कथाहरुले उनीहरुलाई रिफ्रेस गराउँछ । पढ्नमा इच्छा जगाउँछ ।

यसरी बच्चाहरुको हात–हातमा किताब थमाइदिँदा एकातिर बच्चाहरु पढ्ने संस्कतिको विकास भइरहेको हुन्छ भने अर्को तिर नयाँ प्राप्त भइरहेको हुन्छ ।के हामीले आफ्ना स्कुल जाने बच्चाहरुको जन्मदिनको दिनमा कुनै पुस्तक उपहार दिने गरेका छौ ?सायद छैनौ होला । किन कि हामीलाई त्यो कसैले सिकाएन । राम्रो कलम सुन्दर गुडिया दिने गरेका छौ ।

अब बाल पुस्तक दिएर हेर्नुस् र बच्चामा आउने फरकपनाको महसुस पनि तपाईं आँफै गर्नुस्। अब देखि हाम्रो बच्चाहरुलाई कार्टुन फिल्मको सिडीको सट्टा बालपुस्तकहरु किनिदिनु उचित हुनेछ ।टेलीभिजनमा झुन्डिने आँखाहरुलाई किताबको पन्नामा दौडाउन प्रयास गर्नुपर्ने अभिभारा हामी अभिभावक कै हो ।

बच्चाहरु जिज्ञासु स्वभावका हुन्छन् । उनीहरुलाई नयाँ–नयाँ चिज, वस्तुहरु हेर्न मनपर्छ । बजारमा नयाँ–नयाँ बाल पुस्तकहरु पाइन्छ । सबै विषयहरुमा केन्द्रित रहेर बालपुस्तकहरु धेरै–थोरै लेख्एिका छन् ।हामीले सानैदेखि टेलीभिजन हेर्ने बानी बसाली दिएकाछौ । कसरी बिहान उठेर किताबको पन्ना पल्टीओस् ।विशेष गरी अहिलेको युवा पिढी मोबाइल र टेलिभीजनमा बढी समय बिताउने गरेको पाइन्छ । कामकाजी व्यक्तिहरु कार्यलयबाट घरमा आउने बित्तिकै टिभीको रिमोट खोजिरहेका हुन्छन् ।

कोही मोबाइल र ल्यापटपमा झुन्डिरहेका हुन्छन् । हिन्दी धाराबाहिक टेलिसिरियल र सामाजिक सञ्जालको बढी प्रयोगले उत्पादनशिल सयम खेर गैरहेको छ । कमसेकम हामीले यो समयमा हातमा किताब समाउने बानीको विकास गर्न सक्यौ भने घरमा भएका बच्चाहरु लगाएत सम्पूर्ण परिवारमा नै पढ्ने बानीको विकास हुँदै जान्छ । पढाइले सकारात्मक सोचको विकास गर्छ । पढ्ने बानीले परिवार भित्र शान्ति स्थापना गर्नुको साथै सभ्य र सालीन समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ ।

हरेक वर्ष पढ्ने बानीको विकास गर्नको लागि भदौ महिनाको १५ गते नेपालमा पुस्तकालय दिवस मनाउने गरिन्छ । आफू र आफ्ना बाबु नानीहरुलाई पुस्तकालय लैजाने बानी बसालौ । पढ्ने बानीको विकास गरौ ।

© 2018 Annapurna Secondary School. All rights reserved.

Visitor Count Must See Places In Paris

WEBSITE BY BIHANI TECH